कुलुङ विद्यार्थी संघको संक्षिप्त इतिहास
पृष्ठभूमि
कुलुङ जातिको भाषा, संस्कृति, सामाजिक पहिचान तथा शैक्षिक अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित कुलुङ विद्यार्थी संघ एक अग्रगामी, सचेत र प्रतिबद्ध संगठनको रूपमा परिचित रहँदै आएको छ।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (NKKBSUS) को एक भातृ संस्थाको रूपमा आन्दोलनलाई तीव्र बनाउन २०६१ (साल) असोज १६ गते नेपाल किरात कुलुङ विद्यार्थी संघको स्थापना भएको थियो। त्यस समयमा तीन फरक कुलुङ संघहरूलाई NKKBSUS मा एकीकृत गरिएको थियो र कुलुङको आफ्नै पहिचानलाई राज्यद्वारा नेपालको स्वतन्त्र आदिवासी जनजातिको रूपमा मान्यता दिनको लागि लड्ने घोषणा गरिएको थियो। विद्यार्थी संघको प्रमुख उद्देश्य आदिवासी जनजातिहरूको आत्म-पहिचान र आत्म-निर्णयको अधिकार स्थापित गरेर सबै कुलुङ विद्यार्थीहरूलाई उनीहरूको सर्वांगीण विकासको लागि संगठित गर्नु थियो। कुलुङ विद्यार्थी संघको संस्थापक अध्यक्ष श्री धन कुबिर कुलुङ थिए।
निरन्तर शैक्षिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा कुलुङ समुदायको सहभागिता सशक्त बनाउन आवश्यक संगठनात्मक संरचनाको खाँचो महसुस गर्दै, विभिन्न जिल्लामा अध्ययनरत सचेत कुलुङ विद्यार्थीहरूको अग्रसरतामा संघको स्थापना भएको हो। प्रारम्भिक चरणमा सीमित क्षेत्र र व्यक्तिहरूको सहभागितामा सुरु गरिएको यो अभियान अहिले देशव्यापी रूपमा र विदेशमा पनि निरन्तर विस्तार भइसकेको र कतिपय ठाउँमा भैरहेको पनि अवस्था छ।
कुलुङ विद्यार्थी संघले शैक्षिक चेतनाको अभिवृद्धि मात्र होइन, शैक्षिक आन्दोलनमार्फत सामाजिक रूपान्तरणको अभियानमा अग्रसर नेतृत्वदायी व्यक्तित्वहरूको उत्पादनमा पनि निरन्तर भूमिका निर्वाह गर्दै आएको छ। संघले ज्ञान, विवेक र संगठनात्मक क्षमताले सम्पन्न युवाहरूलाई प्रशिक्षण, अवसर र मंच प्रदान गर्दै उनीहरूलाई शैक्षिक रूपान्तरण, सामाजिक न्याय र समावेशीताको पक्षमा अग्रसर नेतृत्वकर्ताका रूपमा विकास गरिरहेको छ।
यस प्रक्रियामार्फत उत्पन्न भएका व्यक्तित्वहरू विभिन्न शैक्षिक, सामाजिक तथा नीतिगत तहमा सक्रिय रही समुदायको अधिकार, पहिचान र समृद्धिको पक्षमा आवाज बुलन्द गरिरहेका छन्। संघको उद्देश्य मात्र औपचारिक शिक्षा प्राप्त गराउने नभई, शिक्षालाई परिवर्तनको माध्यम बनाई नेतृत्व उत्पादन गर्ने रणनीतिमा आधारित छ।
कुलुङ जातिका विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। संगठनले विभिन्न समयहरूमा भाषा तथा संस्कृति संरक्षण, छात्रवृत्ति वितरण, शैक्षिक गोष्ठी, स्वास्थ्य शिविर, जनचेतना अभियान लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक प्रभाव पार्न सफल भएको छ।
विगतका संघर्षपूर्ण यात्राहरू, स्रोत–साधनको अभावका बाबजुद पनि संगठनले संस्थागत रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ। संघको पहलमा विभिन्न जिल्लामा शाखा विस्तार, युवाहरूको नेतृत्व विकास, र डिजिटल युगमा प्रविधिको माध्यमबाट पहिचानप्रति सचेतना फैलाउने कार्यहरू हुँदै आएका छन्।
आजको दिनसम्म आइपुग्दा, कुलुङ विद्यार्थी संघ जातीय समानता, शैक्षिक अधिकार, भाषा-संस्कृति संरक्षण, र समावेशी र समतामूलक सामाजिक विकासको पक्षमा अडिग रूपमा उभिए जन-पैरवी गरिरहेको छ। संघले विगतका उपलब्धिहरूको सम्मान गर्दै, भविष्यमा अझ समावेशी, सशक्त र समुदायमैत्री अभियानहरू सञ्चालन गर्ने अठोट लिएको छ।
उद्देश्य
कुलुङ विद्यार्थी संघको मूल उद्देश्य कुलुङ जातिको शैक्षिक, सामाजिक, सांस्कृतिक र भाषिक उत्थानमा योगदान पुर्याउनु हो। संघले शिक्षित, संगठित र सचेत कुलुङ युवा पुस्ता निर्माणमार्फत समुदायको समग्र विकास र पहिचान प्रवर्द्धन गर्न निरन्तर क्रियाशीलता जनाउँदै आएको छ।
कुलुङ समुदायभित्र शैक्षिक चेतना अभिवृद्धि गर्ने। जातीय, भाषिक र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने, विभिन्न सामाजिक अन्याय र विभेदविरुद्ध सचेतना फैलाउने, विद्यार्थीहरूको क्षमता विकास, नेतृत्व निर्माण र संस्थागत अभिवृद्धिमा सहयोग गर्ने, राष्ट्रिय विकास प्रक्रियामा सक्रिय, उत्तरदायी र सहभागी नागरिक उत्पादन गर्ने संघको उदेश्य रहेको छ।
उपलब्धिका हिसाबले संघले आफ्नो स्थापनादेखि हालसम्म विभिन्न शैक्षिक, सामाजिक तथा संगठनात्मक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। यिनले समुदायमा चेतना, आत्मगौरव, आत्मा म- सम्मान सहित स्व-पहिचानका लागि सहभागिता सुदृढ पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। विभिन्न जिल्ला र क्षेत्रहरूमा संगठनको संरचनात्मक विस्तार, शैक्षिक कार्यक्रम, छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रमहरू सञ्चालन, कुलुङ भाषा, लिपि र संस्कृतिसम्बन्धी प्रशिक्षण र गोष्ठीको आयोजना, आदिवासी अधिकार, सामाजिक न्याय तथा समावेशिताका पक्षमा सार्वजनिक अभिव्यक्तिहरू, राष्ट्रिय दिवस, अन्तरक्रिया, तथा सांस्कृतिक कार्यक्रमहरूमा प्रभावकारी सहभागिता, डिजिटल माध्यममार्फत संगठनको पहुँच विस्तार (सामाजिक सञ्जाल, वेबसाइट निर्माण आदिलाई मुख्य उपलब्धि मान्न सकिन्छ।
संघको उद्देश्य र अभियानलाई सार्थकतापूर्वक अघि बढाउन कम चुनौतीपूर्ण छैन। त्यसका भावजुत पनि संघले प्रतिबद्धताका साथ सम्बोधन गर्दै आएको छ।
आर्थिक स्रोत र स्थायी कोषको अभाव, भौगोलिक रूपमा विकट क्षेत्रहरूमा संगठन विस्तारको कठिनाइ,
विद्यार्थीहरूमा संगठनप्रतिको निरन्तरता र सक्रियताको अभाव, जातीय पहिचान र अधिकारका सवालमा राज्य स्तरबाट मुख्यधारमा उपेक्षा, प्रशासनिक र नीतिगत तहमा समावेशिताको सीमितता, प्रविधिको पहुँच तथा प्रयोगमा देखिने असमानता आदि हाम्रो सामु चुनौतीहरु खडा छन। तर पनि हामी फेरि आफ्नो आफ्नो जातीय पहिचान र शैक्षिक उन्नति र नेतृत्व निर्माण र मातृ संघको उदेश्यमा अनवरत लागि परेका छौँ ।